सकियो छैठौं राप्ती-लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव !

भालुवाङ ९ माघ ।  ‘कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान’ भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा राप्ती गाउँपालिका वडा नम्बर—२, लालमटियाको टुडिखेलमा महोत्सव सम्पन्न भएको हो ।

संघका अध्यक्ष तथा महोत्सव मुल समितिका संयोजक सुरज खड्काको अध्यक्षता एवम् नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माको प्रमुख आतिथ्यतामा महोत्सव सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले मेला महोत्सवले राप्तीको पहिचानका लागि पनि महत्त्वपूर्ण भुमिका रहेको मेला महोत्सवमा अब ज्ञान विज्ञान प्रदर्शनी राख्न आवश्यक रहेको साथै राष्ट्रिय कलाकार सँगै स्थानीय कलाकारलाई पनि स्थान दिन सक्नुपर्ने बताए । त्यस्तै उनले मेला महोत्सवमा स्थानीय स्तरमा उत्पादन भएका वस्तु प्रदर्शनीमा राख्न आवश्यक रहेको बताउँदै मेला रमाइलोका लागि मात्र नभई उत्पादनलाई प्रवर्द्धन गर्न जरूरी रहेको बताएका छन् ।

सो अवसरमा मुख्य प्रायोजक राप्ती फिड इण्डष्ट्रिज प्रालिका सञ्चालक जगतप्रसाद पोख्रेल, नेपाली कांग्रेसका दुर्योधन पाण्डे, राष्ट्रिय जनमोर्चाका दलबहादुर घर्तीमगर, राष्ट्रिय स्वतन्त्र पार्टीका राजकुमार आचार्य, नेकपा एमालेका गिरीराज नेपाली, सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसाल, झाँकी मुल्यांकन समितिका संयोजक जिवराज शर्मा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

महोत्सव उद्घाटनका अवसरमा निकालिएको २८ वटा झाँकी मध्ये नेपाल मगर साँस्कृतिक संघ राप्ती-१ भालुवाङ प्रथम, जागृति महिला समूह राप्ती-७ बड्का सिसहनियाँको बड्का नाच दोस्रो र नेपाल मगर संघ राप्ती २ लालमटियाले तृतीय स्थान हासिल गरेको मुल्यांकन समितिका संयोजक जिवराज शर्माले जानकारी दिएका छन् । विजेताहरूलाई प्रमाणपत्र सहित क्रमश १० हजार, ७ हजार र ५ हजार तथा सहभागी सवै झाँकीलाई प्रमाणपत्र र नगद ३/३ हजार रूपैयाँ प्रदान गरिएको थियो । त्यसै गरि महोत्सवलाई सफल बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने प्रायोजक, सहप्रायोजक, सञ्चारकर्मी, आशाका किरण संस्था, स्टाउट लगायत दर्जनौं व्यक्ति तथा संस्थाहरूलाई पनि सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation