धूम्रपान, मद्यपान तथा लागुपदार्थ दुर्व्यसन विरुद्ध राप्तीमा सचेतनामूलक नाटक प्रदर्शन

मसुरिया, १३ जेठ ।दाङको राप्ती गाउँपालिकाका विभिन्न स्थानमा बुधबार धूम्रपान, मद्यपान तथा लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ। राप्ती गाउँपालिकाको आयोजना तथा मधुवन मिडिया इन्टरटेनमेन्टको संयाेजनमा प्रदर्शन गरिएको उक्त नाटक वडा नम्बर १ भालुबाङस्थित ग्रिनपार्क तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर २ को आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया, वडा नम्बर ४ को माध्यमिक विद्यालय मौरीघाट र वडा नम्बर ५ को सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँमा प्रदर्शन गरिएको हो।

नाटकमार्फत स्थानीय नागरिक तथा विद्यार्थीहरूलाई धूम्रपान, मद्यपान तथा लागुपदार्थ दुर्व्यसनका असरबारे जानकारी गराइएको थियो। कलाकारहरूले यस्ता दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे सशक्त सन्देश दिएका थिए।

विशेषगरी युवापुस्ता, विद्यार्थी तथा सर्वसाधारणमा बढ्दो दुर्व्यसन नियन्त्रण गर्दै सकारात्मक सामाजिक वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। कार्यक्रममा वरिष्ठ कलाकार रामचन्द्र अधिकारी ‘काजिबा’, कार्यक्रम निर्देशक तथा कलाकार विष्णु गैरे, कलाकार सुशीला निरौला ‘बिम्ली’, रोहानी लामा तथा सुरेश असिम को प्रस्तुति रहेको थियो। कलाकारहरूले मनोरञ्जनसँगै जनचेतना फैलाउने शैलीमा नाटक प्रस्तुत गरेका थिए।

राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले पछिल्लो समय युवापुस्तामा बढ्दै गएको धूम्रपान, मद्यपान तथा लागुपदार्थ दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको बताउनुभयो। उहाँले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थी तथा युवामा सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कला र नाटकमार्फत समाजमा प्रभावकारी सन्देश प्रवाह गर्न सकिने उल्लेख गर्नुभयो। साथै उहाँले स्वस्थ, सभ्य र दुर्व्यसनमुक्त समाज निर्माणका लागि सबै पक्षको साझा सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation