एमआरआर ग्रुपको इतिहासमै पहिलो पटक दाङमा बनभोज कार्यक्रम

दाङ । युवाहरू माझ निकै लोकप्रिय रहेको ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) सामाजिक तथा परोपकारी सेवामा सक्रिय रहेको छ । सामाजिक सञ्जालमार्फत समाज रुपन्तरणमा सक्रिय रहेको यस समूह नेपालमा मात्र नभई नेपाल बाहिर भएका नेपालीहरू माझ पनि परिचित छ ।

यसै समूहमा आवद्धरत दाङ जिल्लाका युवाहरूले पनि पुष २८ गते शनिवार वनभोज कार्यक्रम आयोजना गरेका थिए । उक्त वनभोज कार्यक्रममा ३० जना युवाहरूको सहभागिता रहेको कार्यक्रमका संयोजक सूर्य किरण केसी (सुर्या भाइले) जानकारी दिए ।

दाङ जिल्लाको लमही नगरपालिका–३ मा रहेको जखेरा तालमा आयोजना गरिएको कार्यक्रममा शुक्रवार राती भालुबाङमा भएको बस दुर्घटना ज्यान गुमाउनेहरू प्रति चिर शान्तिको कामना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै एक मिनेट मौन धारण तथा शोक मन्तव्य व्यक्त गरिएको थियो ।

वनभोज कार्यक्रममा विभिन्न खेलहरू, नाचगान सँगै जखेराको मनोरम दृश्य अवलोकन गरिएको थियो ।

त्यसै गरी दाङ जिल्ला राप्ती गाउँपालिका वडा नं. ३ मसुरिया मिलन चोक निवासी दिलमाया परियारको गोठबाट सल्किएको आगो वरिपरि फैलिएर छिमेकी जयमला घर्ती मगरको खरले छाएको घरमा आगजनी हुँदा घर र गोठ जलेर नष्ट भएको र वनभोज कार्यक्रममा उक्त घटना बारे जानकारी पाएसँगै सबै जनाले राहत स्वरूप स्वतः स्फूर्त रूपमा सक्दो सहयोग उठाउने निर्णय भएको थियो ।

आदित्य भट्टराई, उमेश अधिकारी, पदम खनाल र धिरज चालिसे तथा सम्पूर्ण सदस्यहरूको पहलमा वनभोज स्थलमै राहत स्वरूप ५ हजार आठ सय नगद र केही जिन्सी सामान सहयोगी हातहरू द्वारा तयार भएको थियो । उक्त नगद तथा जिन्सी सामाग्री यही साता आगलागी पीडित समक्ष हस्तान्तरण गरिने एमआरआरका अग्रज सदस्य आदित्य भट्टराइले जानकारी दिनुभयो ।

विगत देखि समाजसेवामा लागि पर्दै आएको एमआरआरको यो समाजसेवी स्वरूप हो । दुःखद घटना प्रति खेद प्रकट गर्दै सहयोगको लागि सबै दाजुभाइ हात जुटाउन पछि नपर्ने एमआरआरका सदस्यहरूको ज्वलन्त उदाहरण वनभोज कार्यक्रममा देख्न पाइएको थियो ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation