
कैलाली । कैलालीको भजनीका कृष्ण चौधरी हुलाकी सडकबाट घर फर्किएको एक साता मात्रै भएको थियो । दसैँ नजिकिएपछि दसैँ मनाउनका लागि घर गएको उहाँको परिवार पुनः बाढी आएपछि सडकमै फर्किएको छ ।
यही असोज १ गते आएको बाढीले हुलाकी सडकमा विस्थापित भएकाहरु पुनः शुक्रबार बाढी आउँदा सडकमा फर्किएका हुन् । कृष्णजस्तै भजनी नगरपालिकाका सयौँ परिवार सडकमा आएका छन् ।
मनसुन बाहिरिने समयमा भएको भारी वर्षाले कर्णाली र चुरेबाट निस्कने खोलाहरुले कैलालीमा बाढीको स्थिति ल्याएपछि यहाँका नागरिकको विचल्ली भएको छ ।
बुधबार रातिदेखि भएको अविरल वर्षाले नदी र खोलामा बाढीको अवस्था ल्याएको हो । कर्णाली नदीमा शनिबार बिहान बाढीको सतह ९ दशमलव ८ मिटर पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । १० मिटरमाथि जल सतह पुगेमा खतरा मानिन्छ ।