
काठमाडौं । प्रहरीले काठमाण्डौंबाट नक्कली शैक्षिक प्रमाणपत्र सहित ९ जनालाई पक्राउ गरेको छ । भिसाको लागि १० +२ को नक्कली एकेडेमिक ट्रान्सकिप्ट बनाई पेश गरेको भन्ने सूचनाको आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिन भवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरु नेपालस्थित अमेरिकन दुतावासमा ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका व्यक्तिहरु रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले नक्कली एकेडेमिक ट्रान्सकिप्ट सहित शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न दिनेश र सूर्य बहादुरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई लिखत सम्बन्धि कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।