
भालुवाङ ३ असोज । दाङको राप्ती गाउँपालिकाले सोमवार जीवन पथ कार्यक्रमको आयोजना गरी आठौँ संविधान दिवस मनाउन मनाएको छ ।
राप्ती गाउँपालिकाको आयोजना एवम् पथिक फाउन्डेसन दाङको सहकार्यमा दिवस मनाएको हो । बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म सञ्चालन भएको जिवनपथ कार्यक्रम अन्तरगत तनाव व्यवस्थापन, योग, ध्यान, सुखमय जीवनको कला लगायतका विषयमा सिकाइएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले जानकारी दिएका छन् ।
कार्यक्रमको मुख्य प्रशिक्षकमा गुरु डा. टि.एन पथिक, स्वामी सतनाम (टोपेन्द्र खनाल) स्वामी सुशीलले जीवन पथका बारेमा प्रशिक्षण दिएका थिए । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमलापती चौधरी, निवर्तमान गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वली, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मी तथा अन्य अग्रज व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत वासुदेव खनालले गरेका थिए । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयता सहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ ।