
२७ भदौ, भालुवाङ । दाङको राप्ती गाउँपालिकामा आशाका किरण संस्थाले सञ्चालन गरेको १ हप्ते सरसफाइ सचेतना कार्यक्रम सोमबार राप्ती गाउँपालिका २ लालमटियामा सम्पन्न भएको छ ।
पहिलो चरणको अभियान सम्पन्न गरेको संस्थाले राप्ती गाउँपालिकाद्वारा सञ्चालित सरसफाइ महाअभियानलाई समर्थन जनाउँदै सो अभियानलाई व्यापक बनाउने बताएको छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रमुख बजार भालुवाङ सहितका अन्य बजार क्षेत्रमा फोहोर अत्यधिक बढेको भन्दै सो संस्थाले राप्ती गाउँपालिका सँग समन्वय गरेर १ हप्ता सम्म दैनिक रूपमा माइकिङ गर्ने र यातायात व्यवसायी, सवारी साधन तथा व्यापारीहरूलाई जथाभाबी फोहोर नफाल्न निर्देशन दिने गरी कार्यक्रम गरेको थियो ।
सके सफा गरौँ, नसके फोहोर नगरौँ, गाडीमा यात्रा गर्दा बाहिर फोहोर नफालौँ, डस्वीनमा मात्र फोहोर फालौँ, सभ्य नागरिकको परिचय दिऊ भन्ने मूल नारा लिएर कार्यक्रमको आयोजना गरिएको थियो ।
संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलमान चौधरी (अनुप)को प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै प्रवक्ता चौधरिले फोहोर व्यवस्थापनका लागि वडा नम्बर ४ मौरीघाटमा जग्गा लिजमा लिइसकिएको र त्यहाँ गल्ने र नगल्ने फोहोरका लागि संरचना निमार्ण कार्य भइरहेकोले फोहोर व्यवस्थापन चाँडै हुने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै उनले फोहोर व्यवस्थापन गाउँपालिका एक्लैले गर्न नसक्ने हुँदा विभिन्न सङ्घसंस्था तथा युवाहरूको आवश्यकता रहेको र त्यसमा सबैले स्वयमसेवकको रूपमा काम गर्न अनुरोध पनि गरेका छन् ।
त्यस्तै उनले आफ्नो पसल अगाडी २ वटा डस्टबिन राखी पसलबाट निस्कने फोहोर व्यवस्थापन गर्न अनुरोध समेत गरेका छन् । सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर २ का निवर्तमान वडा अध्यक्ष जगतबहादुर थापा, राप्ती उद्योग वाणिज्य सङ्घ भालुवाङका अध्यक्ष सुरज खड्का, हाम्रो लुम्बिनी न्युज डटकमका अध्यक्ष तथा प्रधान सम्पादक वासुदेव न्यौपाने लगायतका वक्ताहरूले महत्त्वपूर्ण भनाई राखेका थिए ।
कार्यक्रममा उद्योगी, व्यापारी, यातायात व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए ।