दाङको देउखुरीमा रगत अभाव हुन नदिन ‘वान प्लस वान’ रक्तदान अभियान सुरू

भालुवाङ ४ असार । दाङमा रगतकाे अभाव हुन नदिन वान प्लस वान रक्तदान अभियान सुरु गरिएको छ । विशेष गरि दाङको देउखुरी क्षेत्रलाई लक्षित गरि देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यावसायिक संघ लमहीले सो अभियान सुरू गरेकाे हाे ।

रगतको अभाव हुन नदिन लमहीबाट (वान प्लस वान) को शैलीमा रक्तदान अभियान सुरू गरेको संस्थाका अध्यक्ष जागेश्वर बसेलले जानकारी दिएका छन् ।

संस्थाले शनिबार देउखुरी क्षेत्रका थप ३ पालिकामा सो अभियान सुरू गरेको छ। वान टु वान अर्थात एक जना रक्तदाताले अर्को एक जना रक्तदातालाई रक्तदान गर्न प्रोत्साहन गर्ने अभियानकाे लक्ष्य रहेको संस्थाका अध्यक्ष बसेलले जानकारी दिएका छन् ।

दाङमा रगत अभाव हुन नदिन तथा कुनै घटना, दुर्घटनाबाट गम्भीर घाइते भइ तत्काल रगत आवश्यक पर्ने अवस्था आउन सक्छ त्यसका लागि रक्त समूह, रगत दान गर्ने व्यक्तिको नाम र फोन नम्बर उल्लेख गरेको व्यानर देउखुरीको लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिकामा रहेका स्वास्थ्य चाैकी र सरकारी अस्पतालमा सर्वसाधारणले देख्ने गरि टाँगिएको छ ।

रगत दान गर्ने रक्तदाता २४ सैं घण्टा तयारी अवस्थामा रहने गरेको अध्यक्ष बसेलले बताएका छन् । यसै बीच शनिबार देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको सिसहनियाँ स्वास्थ्य चाैकीमा रक्तदान जीवन दान लेखिएको व्यानर टाँगेर रक्तदान अभियानको उदघाटन गरिएको छ ।

अभियानको उदघाटन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गरेका थिए । अभियानको उदघाटन गर्दै अध्यक्ष विष्टले यो अभियानलाई अझ व्यापक बनाउन आवश्यक रहेको उल्लेख गर्दै गाउँपालिकाको तर्फबाट समेत आवश्यक सहयोग रहने बताएका छन् । एक जनाको रगतले आर्को व्यक्तिले नयाँ जीवन पाउँछ भने हामी सवै जना रक्तदान गर्न तयार हुनुपर्ने सुझाव समेत दिएका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी, सिसहनियाँ स्वास्थ्य चाैकीका इन्चार्ज धनबहादुर खड्का, सिसहनियाँ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारी, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका उपाध्यक्ष जितेन्द्र गुप्ताको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव राजेशकुमार गुप्ताले गरेका थिए ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation