जिग्री–पाँडे, बले, कक्रोज लगायतका कलाकार बिना आजबाट भद्रगोल प्रसारण हुने ।

काठमाडौँ । केही समय पहिले बाट बन्द भएको लोकप्रिय हास्य टेलिश्रृखला भद्रगोल आज बाट नियमित प्रसारणमा आउने भएको छ । करिब तीन वर्ष देखि नियमित प्रसारण हुँदै आएको ‘भद्रगोल’ कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले नियमित निर्देशन गर्दै आएका थिए । अब भने भद्रगोल नयाँ निर्देशक, नयाँ कलाकार र नयाँ शैलीमा आउने भएको हो । अब भद्रगोलको निर्देशन नक्कली बाबुराम भट्टराईको रूपमा परिचित ज्योति काफ्ले र बाहुन डनको भूमिकामा देखिँदै आएका अशोक धितालले गर्ने भएका छन् ।

यसअघि भद्रगोललाई चर्चित बनाउन भूमिका खेलेका अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, सागर लम्साल ‘बले’ लगायत कलाकार भने अब भद्रगोलमा देखिने छैनन् । कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले केही साता पहिले सामाजिक सञ्जालमार्फत एक लामो स्टाटस पोस्ट गर्दै ‘भद्रगोल’ बन्द भएको जानकारी गराएका थिए ।आफूहरूले मेहनत गरेर स्थापित गरेको कार्यक्रमको नाममा समेत आफूहरूको अधिकार नरहेको र आर्थिक समस्याका कारण शृङ्खला बन्द गर्नु परेको उल्लेख थियो । कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’, रक्षा श्रेष्ठ लगायत कलाकारको अभिनय रहँदै आएको भद्रगोलमा जिग्री र पाँडे पात्र दर्शक माझ निकै लोकप्रिय मानिन्छ । अब ज्योति काफ्ले भद्रगोलमा मङ्गल थारु बनेर देखिँदै छन्, भने अशोक धिताल बाहुन डनकै रूपमा देखिने भएका छन् । सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिना आदि कलाकारको समेत यो श्रृखलामा अभिनय रहनेछ । भद्रगोल सदा झैँ नेपाल टेलिभिजन बाट प्रत्येक शुक्रवार बेलुका ८ः५० बजे बाट प्रसारण हुनेछ ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation