शिक्षा र परिवर्तनका संवाहक स्वर्गीय बञ्जाडेको स्मृतिमा ढाकावाङ्गका २६ उत्कृष्ट विद्यार्थी सम्मानित

अर्घाखाँची।         शिक्षा, समाजसेवा र राजनीतिक चेतनाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ (साविक ढाकावाङ्ग) निवासी स्वर्गीय कुलानन्द बञ्जाडेको २०औँ स्मृति दिवस विविध कार्यक्रमका साथ मनाइएको छ।

स्मृति दिवसको अवसरमा भूमिकास्थान नगरपालिका १ र २ ढाकावाङ्गका उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

स्वर्गीय कुलानन्द बञ्जाडे स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा भूमिकास्थान नगरपालिका १ र २ ढाकावाङ्गका १३ विद्यालयका २६ जना छात्र–छात्रालाई सम्मान गरिएको हो। कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाको प्रमुख आतिथ्यता रहेको थियो।

चार दशकभन्दा बढी समय शिक्षण पेशामा समर्पित रहँदै सामाजिक रूपान्तरण र नेपालको कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका बञ्जाडे तत्कालीन विश्व माध्यमिक विद्यालय ढाकावाङ्गका प्रधानाध्यापकसमेत हुनुहुन्थ्यो। शिक्षण पेशासँगै उहाँले तत्कालीन राजनीतिक परिस्थितिअनुसार भूमिगत तथा खुला रूपमा कम्युनिष्ट आन्दोलनमा सक्रिय योगदान पुर्‍याउनुभएको थियो। उहाँको २०६३ साल जेठ १६ गते ५८ वर्षको उमेरमा हृदयाघातका कारण असामयिक निधन भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख झविलाल थापाले स्वर्गीय बञ्जाडे शिक्षा, समाज र राजनीतिलाई सन्तुलित रूपमा अघि बढाउने दूरदर्शी तथा परिवर्तनकारी व्यक्तित्व भएको बताउनुभयो। उहाँले बञ्जाडेको नेतृत्व क्षमता, समाजप्रतिको उत्तरदायित्व र परिवर्तनलाई आत्मसात् गर्दै समुदायलाई जागरूक बनाउने अद्भुत क्षमताको चर्चा गर्दै यस्ता व्यक्तित्व समाजका लागि सधैं प्रेरणाका स्रोत रहने बताउनुभयो।

प्रतिष्ठानका अध्यक्ष भुवानन्द भुसालले स्वर्गीय बञ्जाडेको स्मृतिलाई जीवन्त राख्न र नयाँ पुस्तालाई शिक्षा तथा असल कर्मप्रति प्रेरित गर्न हरेक वर्ष उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने परम्परा निरन्तरता दिइएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीमा सकारात्मक प्रतिस्पर्धा, अध्ययनप्रतिको रुचि र भविष्यप्रति आत्मविश्वास बढाउने विश्वास व्यक्त गर्नुभयो। साथै, समाजप्रति समर्पित व्यक्तित्वहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको आदर्शलाई पुस्तान्तरण गर्नु प्रतिष्ठानको प्रमुख उद्देश्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा भूमिकास्थान–१ का वडाध्यक्ष गोपालप्रसाद खनाल, भूमिकास्थान–२ का वडा सदस्य नारायणप्रसाद खनाल, शिक्षक विष्णु शर्मा, प्रतिष्ठानका पूर्व अध्यक्ष खड्काबहादुर थापा लगायतले मन्तव्य राख्दै स्वर्गीय बञ्जाडेको शिक्षा, सामाजिक जागरण र राजनीतिक चेतनाको विकासमा पुर्‍याएको योगदानको स्मरण गर्नुभएको थियो। वक्ताहरूले उहाँको समर्पित जीवन, इमानदारिता र सेवाभावबाट वर्तमान पुस्ताले प्रेरणा लिनुपर्नेमा जोड दिएका थिए।

स्वर्गीय कुलानन्द बञ्जाडे स्मृति प्रतिष्ठानका अध्यक्ष भुवानन्द भुसालको अध्यक्षता, शिक्षक चन्द्रबहादुर केसीको सञ्चालन तथा खुविराम खनालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, शिक्षाप्रेमी, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation