अर्घाखाँची जिल्लाको ढाकावाङ्गमा कार्यक्षेत्र रहेको प्रगति कृषि सहकारी संस्थाले मौरी पकेट निरन्तर कार्यक्रम अन्तर्गत वितरण गरिएको मौरी घार तथा सम्बन्धित सामग्रीको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा सहकारीमार्फत कृषकहरूलाई वितरण गरिएको सामग्री तथा खर्च विवरण सार्वजनिक गरिएको थियो।
भूमिकास्थान नगरपालिकाको २ लाख ९९ हजार ३ सय ६० रुपैयाँ अनुदान तथा सहकारीको २ लाख ८९ हजार ३ सय ६० रुपैयाँ लगानी गरी कुल ५ लाख ८८ हजार ७ सय २० रुपैयाँ बराबरका सामग्री वितरण गरिएको जानकारी दिइयो।
कार्यक्रम अन्तर्गत ४ फ्रेम सहितका ४७ गोला रानुसहितका मौरी घार, सुपर सहितका १५ थान मौरी घार, ५० थान रानु ढोका, १०० थान मह प्याकिङ बट्टा लगायतका आवश्यक सामग्री कृषकहरूलाई वितरण गरिएको सहकारीले जनाएको छ।
कार्यक्रममा बोल्दै झविलाल थापाले कृषिलाई उत्पादनसँग मात्र नभई व्यवसाय र रोजगारीसँग जोड्न आवश्यक रहेको बताउनुभयो। उहाँले ढाकावाङ्ग क्षेत्र मौरीपालनका लागि उपयुक्त स्थान भएकाले यहाँका कृषकहरूले व्यवसायिक रूपमा अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।
नगरपालिकाले कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न अनुदानमुखी कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले अनुदानको सही सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी कृषि शाखा प्रमुख प्राविधिक युवराज आचार्यले केही कृषकहरूले अनुदानका सामग्री लिए पनि निरन्तरता नदिने प्रवृत्ति देखिएको भन्दै त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो।
उहाँले मौरीपालनलाई केवल अनुदान प्राप्त गर्ने माध्यमका रूपमा होइन, व्यवसायिक सोचका साथ अघि बढाउनुपर्ने बताउनुभयो। “मौरी घार वितरण गरेर मात्रै उपलब्धि हुँदैन, त्यसको संरक्षण, व्यवस्थापन र उत्पादन वृद्धि भए मात्र कार्यक्रम सफल मानिन्छ,” उहाँले उल्लेख गर्नुभयो। साथै उहाँले सहकारी र कृषक दुवैले जिम्मेवार भएर कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो।
सहकारीका अध्यक्ष भुवानन्द भुसालले सहकारीले कृषकको आर्थिक स्तर उकास्न विभिन्न कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
उहाँले मौरी पकेट कार्यक्रमले कृषकलाई व्यवसायिक मौरीपालनतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, स्थानीय कृषक, सहकारीका शेयर सदस्य, तथा सरोकारवालाको सहभागिता रहेको थियो














