अर्घाखाँची । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो भूमिकास्थान’ निर्माणसम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
बुधबार सम्पन्न कार्यशालामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, प्राचार्य, पत्रकार तथा सरोकारवाला निकायको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यशालामा स्थानीय पाठ्यक्रममार्फत विद्यार्थीलाई आफ्नै क्षेत्रको इतिहास, संस्कृति, भूगोल र मौलिक पहिचानसँग जोड्ने विषयमा व्यापक छलफल भएकाे थियो । सहभागीहरूले स्थानीय स्रोत, साधन र अनुभवलाई समेटेर व्यवहारिक तथा जीवनोपयोगी शिक्षा दिनुपर्नेमा जोड दिए।
कार्यक्रमका वक्ताहरूले शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताए। तयार गरिने पाठ्यपुस्तकलाई समयसापेक्ष, तथ्यपरक र विद्यार्थीमैत्री बनाउनुपर्ने सुझावसमेत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा नगरप्रमुख झविलाल थापाले कम्तिमा ४० प्रतिशत नतिजा सुनिश्चित गर्ने गरी सबै पक्षले जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए। “शिक्षालाई गुणस्तरीय बनाउने जिम्मा शिक्षकको मात्र होइन, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, राजनीतिज्ञ सबैको साझा दायित्व हो,” उनले भने।
त्यस्तै पूर्व नगरप्रमुख रेशम थापाले विद्यार्थीलाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याए। प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि नारायण गौतम, बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. शालिकराम पौडेल, डा. प्रेमप्रसाद तिवारीलगायतले पनि आ-आफ्ना धारणा राखेका थिए।
यसैबीच, शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले विद्यालय र विषयगत शिक्षकको मूल्यांकन झण्डा र लोगोमार्फत सार्वजनिक गर्ने नयाँ योजना अघि सारेको छ।
शिक्षा शाखा प्रमुख टिकाराम आचार्यका अनुसार विद्यालय तथा शिक्षकलाई तीन वर्गमा विभाजन गरी हरियो, पहेँलो र रातो झण्डा तथा लोगो प्रदान गरिनेछ।
उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई हरियो, मध्यम नतिजा ल्याउनेलाई पहेँलो र कमजोर नतिजा ल्याउने विद्यालयलाई रातो झण्डा प्रदान गरिनेछ भने विषयगत शिक्षकलाई पनि सोही आधारमा लोगो दिइनेछ। झण्डा विद्यालयको गेटमा राखिने र शिक्षकले लोगो लगाउनुपर्ने व्यवस्था गरिनेछ।
यस प्रणालीले अभिभावक तथा सरोकारवालालाई विद्यालय र शिक्षकको कार्यसम्पादनबारे सहज रूपमा जानकारी प्राप्त गर्न मद्दत पुग्ने विश्वास नगरपालिकाको छ।












