अर्घाखाँचीको विकासमा दलगत राजनीति भन्दा माथि उठेर अघि बढ्ने सांसद हरिप्रसाद भुसालको प्रतिबद्धता

बुटवल । अर्घाखाँचीबाट निर्वाचित सांसद हरिप्रसाद भुसालले जिल्लाको समग्र विकास निर्माणका लागि दलिय आग्रह र पूर्वाग्रह त्यागेर सबै अर्घाखाँचीबासीको साझा सेवकका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

शनिबार रुपन्देहीमा बसोबास गर्ने अर्घाखाँचीबासीहरूले आयोजना गरेका विभिन्न कार्यक्रममा सम्बोधन गर्दै उहाँले अब “कुरा होइन, काम देखाउने समय” आएको उल्लेख गर्नुभयो। उहाँले विकासका विभिन्न योजनाहरूलाई तीव्र रूपमा अघि बढाइएको जानकारी दिँदै अर्घाखाँची जिल्ला अस्पतालको नयाँ भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको र आगामी दुई महिनाभित्र उक्त प्रक्रिया सम्पन्न हुने बताउनुभयाे।

त्यसैगरी गोरुसिङ्गे–सन्धिखर्क सडकलाई डबल लेनमा विस्तार गर्ने काम पनि छिट्टै सुरु हुने उहाँले स्पष्ट पार्नुभयाे। उक्त सडक स्तरोन्नतिले जिल्लाको यातायात, व्यापार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयाे।

सांसद भुसालले जिल्लामा विद्यमान समस्या समाधानका लागि स्थानीयवासी, बुद्धिजीवी तथा सरोकारवालाहरूबाट प्राप्त सुझावहरू महत्वपूर्ण हुने उल्लेख गर्दै सबैलाई खुला रूपमा सुझाव दिन आग्रह गर्दै समस्या पहिचानसँगै समाधानका व्यावहारिक सुझाव आए काम गर्न अझ सहज हुने बताउनुभयो।

उहाँले विकास निर्माणका कामलाई पारदर्शी, दिगो र जनमुखी बनाउने प्रतिबद्धता दोहोर्याउँदै अर्घाखाँचीलाई समृद्ध र व्यवस्थित जिल्लाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ आफू निरन्तर क्रियाशील रहने समेत बताउनुभएको छ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation