बिचौलियामाथि कडाइः सेवाग्राहीलाई बिचौलियामुक्त सेवा दिन राप्ती गाउँपालिकाको निर्देशन

भालुवाङ । राप्ती गाउँपालिकाले सेवाग्राहीसँग बिचौलिया प्रयोग गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न कडाइ गर्ने भएको छ। गाउँपालिकाले आफ्ना मातहतका सबै कार्यालयलाई बिचौलियामुक्त सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन जारी गरेको हो।

जारी सूचनाअनुसार अब सरकारी तथा गैरसरकारी कार्यालयहरूबाट प्रदान हुने सेवा प्रत्यक्ष र सरल ढंगले उपलब्ध गराउनुपर्नेछ। सेवाग्राहीलाई सहजीकरण गर्ने नाममा अनधिकृत रूपमा रकम असुल्ने वा बिचौलियाको भूमिका निर्वाह गर्ने व्यक्तिहरूमाथि निगरानी बढाइने गाउँपालिकाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय, दाङको निर्देशनलाई कार्यान्वयन गर्दै गाउँपालिकाले सेवा प्रणालीलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले बिचौलिया नियन्त्रणमार्फत सेवामा सुधार ल्याउने र सेवाग्राहीको झन्झट घटाउने अपेक्षा गरिएको बताए। साथै, अवैध क्रियाकलापमा संलग्न जो–कोहीमाथि कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation