गीत–संगीतमार्फत ट्राफिक सचेतना फैलाउँदै प्रहरी नायव निरीक्षक शाही

भालुवाङ, माघ ११ । अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक नरेन्द्र बहादुर शाहीले गीत–संगीतको माध्यम अपनाउँदै ट्राफिक नियम पालना गर्न सर्वसाधारणलाई सन्देश दिनुभएको छ।

राप्ती उद्योग वाणिज्य संघको आयोजनामा दाङको राप्ती गाउँपालिका–२ लालमटियास्थित टुडिखेलमा पुस २५ गतेदेखि सञ्चालन भइरहेको सातौँ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको शनिबार सोह्रौँ दिनका दिन शाहीले ट्राफिक सचेतनामूलक गीत प्रस्तुत गर्नुभएको हो । उक्त गीतमार्फत बाटो काट्ने सही तरिका, हेल्मेट प्रयोगको आवश्यकता, जेब्रा क्रसिङको महत्त्व, ट्राफिक बत्तीको संकेत तथा मापसे गरी सवारी साधन चलाउन नहुने विषयलाई सरल र प्रभावकारी ढंगले प्रस्तुत गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय भालुवाङ तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङको सहकार्यमा भएको सन्देशमूलक कार्यक्रममा शाहीले गीत गाएर दर्शकहरूलाई ट्राफिक नियम पालनाका लागि आग्रह गर्नुभएको थियो । सानैदेखि गीत–संगीतमा रुचि राख्ने उहाँले पछिल्लो समय केही सन्देशमूलक गीतहरू पनि सार्वजनिक गर्नुभएको छ।

उहाँको प्रस्तुतीले महोत्सवमा उपस्थित दर्शकको ध्यान आकर्षित गर्नुका साथै ट्राफिक सचेतनामा सकारात्मक प्रभाव पारेको आयोजकको भनाइ छ। कार्यक्रममा वरिष्ठ गन्धर्व बाधक तथा गन्धर्व समाजका अध्यक्ष जनक गन्धर्वले सारंगी वादन गर्नुभएको थियो भने हेमराज गन्धर्वले मादलमार्फत साथ दिनुभएको थियो । परम्परागत लोकवाद्यसँगै प्रस्तुत गरिएको ट्राफिक सचेतनामूलक गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको आयोजकले जनाएका छन्।

मनोरञ्जनसँगै सामाजिक सन्देश प्रवाह गर्न सकिने यस्ता कार्यक्रमहरूले समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation