आशाका किरण संस्थाको अभियान जारी : ११ स्थानमा बन्यो जेब्रा क्रसिङ

भालुवाङ २७ कार्तिक । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले सडक दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङ बनाउने अभियानलाई जारी राखेको छ ।

यस वर्षको देउसीभैलाबाट संकलित रकम मध्ये खर्च कटाएर बचेको रकमको ५० प्रतिशत रकमले सामाजिक क्षेत्रमा खर्च गर्ने गरी संस्थाले पहिलो काम सडक दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङ बनाउन सुरु गरेको हो । सो संस्थाले भालुवाङ– प्युठान सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर १ शान्तिपुर चैते देखि भालुवाङ सम्म र लमही–भालुवाङ सडक खण्डको भालुवाङ देखि वडा नम्बर ५ को सिसहनियाँ बजार सम्म आवश्यकताका आधारमा जेब्रा क्रसिङ बनाउन सुरु गरेकोे संस्थाका अध्यक्ष दिवस आचार्यले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङको सहकार्यमा गत कार्तिक २० गते भालुवाङ– प्युठान सडक खण्डको शान्तिपुर चैतेबाट सुरु गरेको जेब्रा क्रसिङ बनाउने अभियान जारी रहेको संस्था अध्यक्ष आचार्यले बताए । संस्थाले हाल सम्म राप्ती गाउँपालिका भित्रका ११ स्थानमा जेब्रा क्रसिङको काम सम्पन्न गरिसकेको महासचिव लोकमणी भुसालले बताए । उनका अनुसार शान्तिपुर चैतेमा १, उपल्लो भालुवाङमा ४, भालुवाङ पुल्चोकमा ३, पाखापानीमा १ र लालमटियामा २ स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । त्यस्तै संस्थाले अन्य ठाउँमा आगामी शनिबारबाट जेब्रा क्रसिङ बनाउने काम सुरु गरिने महासचिव भुसालले बताए । जेब्रा क्रसिङ निमार्ण कार्यमा विद्यार्थी, शिक्षक, व्यापारी तथा युवाहरुले समेत साथ दिएको महासचिव भुसालले बताए ।

ती दुवै सडक खण्डमा विद्यार्थी तथा पैदल यात्रीहरूले जथाभाबी बाटो काट्दा दुर्घटनाको जोखिम बढेका कारण विद्यार्थी र पैदलयात्रीलाई लक्षित गरी जेब्रा क्रसिङ बनाउन थालिएको हो । संस्थाका अध्यक्ष आचार्यले जेब्रा क्रसिङले सो सडक खण्डमा दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने विश्वास लिएको बताए । उनले जेब्रा क्रसिङ र स्पष्ट सङ्केत नहुँदा जथाभाबी सडक पार गर्दा भइरहेका दुर्घटनामा न्यूनीकरण गर्नका साथै विद्यार्थी तथा यात्रुहरूमा सचेतना समेत अभिवृद्धि गर्ने बताए । पर्याप्त स्रोत, साधनको अभावले जेब्रा क्रसिङ बनाउन नसकिएका बेला युवाहरुले सकारात्मक कामको थालनी गरेको प्रति स्थानीयहरु समेत खुसी भएका छन् ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation