अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–३ धारापानी ठुलाखर्कका समाजसेवी तथा नियमित रक्तदाता विज्ञानजी भाटले २४ वर्षको उमेरमा १७ औँ पटक रक्तदान गरेका छन्।
सामाजिक कार्यप्रति सानै उमेरदेखि सक्रिय भाट विभिन्न सामाजिक संस्थामा आवद्ध रहँदै आएका छन्। उनी समाजसेवी, खेलप्रेमी र सहयोगी युवा भनेर पनि चिनिन्छन्।
भाटले GEN-Z शहीदहरूको सम्मानमा त्रिवेणी युवा क्लबको आयोजनामा काठमाडौँ महानगरपालिका–२९ मा शनिबार आयोजित रक्तदान कार्यक्रममा १७ औँ पटक रगत दान गरेका हुन्। 
रक्तदानपछि उनले भने, “म हरेक तीन–तीन महिनामा नियमित रूपमा रक्तदान गर्छु। मेरो रक्त समूह O+ हो। आवश्यक परेको बेला सम्पर्क गर्न सकिन्छ। रक्तदान गर्दा कसैको जीवन बचाउन पाउँदा अपार आनन्द महसुस हुन्छ। रक्तदान जीवनदान हो, रगतको एक पोका कसैको नयाँ जीवन बन्न सक्छ — त्यो भन्दा ठूलो धर्म अरू के हुन सक्छ र?”
उनका अनुसार युवापुस्ताले रक्तदानप्रति सचेत हुन जरुरी छ। उनले भने, “हाम्रो समाजमा अझै पनि कतिपय ठाउँमा ‘रक्तदान गरे रगत सकिन्छ’ भन्ने भ्रम छ, तर त्यो पूर्ण गलत हो। रक्तदान सुरक्षित र स्वास्थ्यका लागि समेत लाभदायक हुन्छ।”











