अर्घाखाँचीमा पत्रकार भट्टराईसहित १४ जना सम्मानित

अर्घाखाँची। अर्घाखाँचीमा १४ जना हुलाकका कर्मचारी र १ जना पत्रकार सम्मानित भएका छन्। १५१ औं विश्व हुलाक दिवसको अवसरमा आयोजित बिशेष कार्यक्रम मार्फत सेवा निवृत र उत्कृष्ट गरि १४ जना कर्मचारी र एक जना पत्रकारलाई जिल्ला हुलाक कार्यालय अर्घाखाँचीले सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेहरुमा पत्रकारतर्फ सामुदायिक रेडियो अर्घाखाँचीका स्टेशन म्यानेजर गोपाल प्रसाद भट्टराई, उत्कृष्ट कर्मचारी तर्फ जिल्ला हुलाक कार्यालय अर्घाखाँचीका नासु मदन भट्टराई, दिपा खनाल चुंदाली,दामोदर पोख्रेल मालारानी, जीवप्रसाद श्रेष्ठ पाणिनी र सिता खनाल छत्रदेव रहनुभएका छ ।

यस्तै सेवानिवृत कर्मचारी तर्फ ओमलाल भट्टराई धनचौर, टोपलाल पाण्डे छत्रगञ्ज, नुमलाल पौडेल र माधव पौडेल जुकेना, कमला खनाल केरुङ्गा, हुलाकी कमल घिमिरे, डबल प्रसाद भुसाल बाँगी, चुरामणी भट्टराई पाणीनी र जिल्लाहुलाक कार्यालय अर्घाखाँचीका कार्यालय सहयोगी गिरी प्रसाद मरासिनी रहनुभएको छ ।

जिल्ला हुलाक कार्यालय अर्घाखाँचीले दिवसको अवसरमा बुधबार दिउसो कार्यालय परिसरमा सरसफाई, सांझ दिपप्रज्वलन, बिहिबार बिहान जिल्ला अस्पताल अर्घाखाँचीमा भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण र दिउसो सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको कार्यक्रम व्यवस्थापक हेमनाथ मरासिनीले जानकारी दिनुभएको छ ।

पालिका तथा वडातहमा रहेका हुलाक कार्यालयका कर्मचारी, जिल्ला हुलाक कार्यालयका कर्मचारी, निवृत कर्मचारी र पत्रकारको समेत उपस्थितिमा गरिएको उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले ऐतिहासिक महत्व बोकेको हुलाक सेवालाई समय सापेक्ष सूचना र प्रविधि मैत्री बनाएर लैजानुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनालले हुलाक सेवाले गरेको द्रुत विकासले सूचनाको विकासमा ठूलो सहयोग पुगेको धारणा राख्नुभयो । “अहिलेको आवश्यकता भनेको हुलाकलाई अत्याधुनिक र सुचना प्रविधी मैत्री बनाउनु हो।”, अध्यक्ष खनालले भन्नुभयो । “हुलाक सञ्चार माध्यमको तालुक अड्डा पनि हो ।” संचारक्षेत्रसंग हुलाक र हुलाकसंग संचारजगतको समन्वय अपरिहार्य भएको उहाँको तर्क छ ।कार्यक्रममा बोल्दै जिल्ला हुलाक कार्यलय अर्घाखाँचीका प्रमुख हुलाक अधिकृत भरत सापकोटाले हुलाकले धेरै अन्तराष्ट्रिय संस्थाहरुसंग समेत सांझेदारी गरेर अगाडि बढ्नुपर्ने र सोहि अनुसार अगाडि बढ्दा सेवा प्रवाहपनि प्रभावकारी भएको बताउनुभयो ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation