
देउखुरी, भालुवाङ — रोटरी क्लब अफ राप्तीको तेस्रो वार्षिक पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नव नियुक्त अध्यक्ष गोपाल आचार्यले पदभार ग्रहण गर्दै राप्ती गाउँपालिका भित्र अध्ययनरत विद्यार्थीहरुको वाथमुटु रोग परीक्षण लगायत शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जनाए ।
कार्यक्रमका प्रमुख अतिथि तथा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पूर्व गभर्नर राजेन्द्र प्रसाद धोजुले युवाहरुको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताउँदै, रोटरीयनहरुको कर्तव्य समाजसेवामा समर्पित रहनु हो भन्ने धारणा राखे।
संस्थापक अध्यक्ष बासुदेव न्यौपानेले राप्ती गाउँपालिकाभित्रको एक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने तयारी भइरहेको जानकारी गराउँदै, डिष्ट्रिकसँग सहकार्यका लागि आग्रह गरे। निवर्तमान अध्यक्ष तपराज आचार्यले अघिल्लो वर्षका सामाजिक तथा रचनात्मक कार्यहरुको समीक्षा गर्दै सम्पूर्ण सदस्यलाई धन्यवाद व्यक्त गरे।
नवगठित कार्यसमिति वर्ष २०२५/२६ को सचिवमा दोर्ण प्रसाद आचार्य, कोषाध्यक्षमा दुर्गा बस्नेत, निवर्तमान अध्यक्षमा तपराज आचार्य, प्रेसिडेन्ट इलेक्टमा बसन्त गिरी, प्रेसिडेन्ट नोमिनीमा मोहन आचार्य, उपाध्यक्षमा हिमानन्द पाण्डे र खुमलाल पोख्रेल, क्लब एडमिन्स्ट्रेटिभ चेअरमा पिताम्बर रोकाया, मेम्बरसिप चेअरमा विजुला केसी, पब्लिक इमेज चेअरमा श्याम न्यौपाने, सर्भिस प्रोजेक्ट चेअरमा बासुदेव न्यौपाने, द रोटरी फाउण्डेशन चेअरमा सितल रिजाल र सर्जन एट आम्र्समा अन्जना पोख्रेल रहेका छन् ।
कार्यक्रममा नयाँ सदस्यका रूपमा आशिष रेग्मी, चेतन सारु, कमल केसी र विष्णु प्रसाद चौधरीलाई पिन प्रदान गरी स्वागत गरिएको थियो। हाल क्लबमा २९ जना सदस्य सक्रिय छन्।
स्थापना वर्षमै चार वटा डिष्ट्रिक अवार्ड प्राप्त गर्न सफल क्लबले हाल श्री आदर्श नमुना मावि, लालमटियामा छात्रा चौर शौचालय निर्माणको अन्तिम चरणमा काम गरिरहेको छ। रोटरी क्लब अफ राप्ती समाजसेवा, शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर सक्रिय छ।