
दाङ, १४ असार ।
“गालामा दाह्री, काँधमा जिम्मेवारी” भन्ने मूल नाराका साथ दारी ग्याङ दाङले आफ्नो दोस्रो मासिक भेला तथा अम्विकेश्वरी मन्दिर परिसर सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम दारी ग्याङ दाङका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता, अम्विकेश्वरी मन्दिर व्यवस्थापन समितिकी उपाध्यक्ष निरजा पोख्रेलको प्रमुख आतिथ्यता तथा दारी ग्याङ लुम्बिनी प्रदेशका सहसंयोजक टार्जन भण्डारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
दाङ जिल्लाका विभिन्न पर्यटकीय स्थलहरूमा मासिक भेला र सामाजिक क्रियाकलापहरू गर्दै आइरहेको दारी ग्याङ दाङले यस पटक धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण अम्विकेश्वरी मन्दिर परिसरको सरसफाइ गरी समाजप्रतिको जिम्मेवारीमा प्रतिबद्धता दर्साएको छ। कार्यक्रममा दारी ग्याङ दाङका विभिन्न सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण सङ्गठनका सचिव हेमन्त भण्डारीले गर्नुभएको थियो।