बुटवलको दर्दनाक घटना: आमा र दुई बालबालिकाको हत्या, पूर्व श्रीमान पक्राउ

बुटवल :  बुटवल उपमहानगरपालिका–११ को होराइजनचोक नजिक मिलीजुली पथमा एक हृदयविदारक घटना भएको छ। अन्दाजी २७ वर्षीया दीपा बस्याल तथा उनका २ छोरीको विभत्स तरिकाले हत्या गरिएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्र रानाले दीपा बस्याल र उनका दुई बालिकाको हत्या पुष्टि गरेका छन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अन्दाजी ३०–३२ वर्ष उमेरका सुजन कोइरालालाई नियन्त्रणमा लिएको छ, जो मृतक दीपाका पूर्व श्रीमान् हुन्।

प्रारम्भिक अनुसन्धानअनुसार, सम्बन्धविच्छेदपछि अर्कोसँग विवाह गरिसकेकी दीपालाई सुजनले आफ्नै घरमा बोलाएर मंगलबार बिहान करिब ४ बजे घटना घटाएका हुन्। स्थानीयवासीका अनुसार उनीहरूबीच करिब १० वर्षअघि नै सम्बन्ध विच्छेद भएको थियो।

प्रहरीका अनुसार, पक्राउ परेका सुजन कोइराला केही वर्षअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल गएका थिए र संविधान दिवसको अवसरमा आममाफी पाई छुटेका थिए।

डिएसपी रानाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation