अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले शैक्षिक गुणस्तर सुधार तथा पठनपाठनलाई प्रभावकारी बनाउने उद्देश्यले आइतबारसमेत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
नगरपालिकाबाट जारी सूचनाअनुसार शैक्षिक सत्र २०८३ को भर्ना अभियानसँगै नियमित पठनपाठनलाई व्यवस्थित गर्न यस्तो निर्णय लिइएको हो। यससँगै विद्यालयहरू विगतमा जस्तै आइतबारदेखि शुक्रबारसम्म नै नियमित रूपमा कक्षा सञ्चालन हुनेछन्।
यसअघि शनिबार र आइतबार बिदा दिने विषयमा विभिन्न तहबाट सुझाव आए पनि स्थानीय तहलाई दिइएको अधिकार प्रयोग गर्दै नगरपालिकाले शिक्षाको गुणस्तर उकास्न आइतबार पनि कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको जनाएको छ।
नगर कार्यपालिकाको निर्णयअनुसार २०८३ साल वैशाख १३ गतेदेखि लागू हुने गरी विद्यालय सञ्चालन गर्न सबै शैक्षिक संस्थाहरूलाई अनुरोध गरिएको छ। 
नगर प्रमुख झविलाल थापाले विद्यार्थीको सिकाइ उपलब्धि सुधार्न, समयको अधिकतम सदुपयोग गर्न र शैक्षिक अनुशासन कायम गर्न यो निर्णय प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।











