अर्घाखाँची । भूमिकास्थान नगरपालिकाको ढाकावाङ्गमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ९० जना स्थानीय नागरिक लाभान्वित भएका छन्।
भूमिकास्थान नगरपालिकाको सहकार्यमा चैत २७ गते ढाकावाङ्ग स्वास्थ्य चौकीमा आयोजना गरिएको उक्त बृहत् स्वास्थ्य शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए।
लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको सहकार्यमा सम्पन्न शिविरमा उच्च रक्तचाप र मधुमेह परीक्षण, मानसिक स्वास्थ्य सेवा, छाला तथा यौन रोग उपचार, मुख तथा दाँत जाँच लगायतका विविध स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो। साथै महिलासम्बन्धी रोगहरूको पहिचान, उपचार, परामर्श तथा आवश्यक बिरामीलाई रिफर समेत गरिएको थियो।
शिविरमा आएका बिरामीहरूलाई विशेषज्ञ चिकित्सकको सिफारिस अनुसार आवश्यक औषधि तथा स्वास्थ्य सामग्री निःशुल्क वितरण गरिएको थियो। स्थानीय बासिन्दाले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गरेका छन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रप्रसाद चौधरीले शिविरले दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे।












