मसुरिया, २६ मंसिर । दाङको राप्ती गाउँपालिका–२ पुन्यपुरस्थित फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा शुक्रबार बिहान लागेको आगलागीबाट करिब १ करोड २२ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागीका कारण एउटा ट्रस्ट भवनसहित विभिन्न मेसिन, टायल तथा इन्टरलक जलेर नष्ट हुदा साे बराबरको क्षति भएको ईको फेमिली प्राइभेट लिमिटेडका सञ्चालक रुपेश कवँरले जानकारी दिनुभयो। फोहर व्यवस्थापनका लागि निर्माण गरिएको घरसमेत जलेको प्रहरीले जनाएको छ।
यसअघि सो स्थानमा राप्ती गाउँपालिकाले फोहर व्यवस्थापन गर्दै आएको थियो। गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल र डोजरको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा ल्याइएको थियो। आगलागीको कारण खुल्न अझै नसकेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











