डलर हालसम्मकै महंगो, एक डलरलाई एक सय ३० रूपैयाँ बढी –

काठमाण्डौं । शनिबारको लागि राष्ट्र बैंकले डलरको विनिमय दर हालसम्मकै उच्च तोकेको छ। शनिबार एक डलर खरीद गर्न नेपालीले झन्डै १३० रुपैयाँ खर्चिनुपर्ने अवस्था आएको छ।

डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो। नेपाल राष्ट्र बैंकले शनिबार १ डलर बराबर १२९.८९ रुपैयाँ बिक्रीदर तोकेको छ।

डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो। नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड गरिएको छ। अर्थात भारतीय मुद्रा अन्य मुद्रासँग बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ र कमजोर हुँदा कमजोर।

शनिबार १ डलर बराबर ८०.९१ भारू पुगेको भारतीय रिजर्भ बैंक (आरबीआई) ले जनाएको छ। शुक्रबार ८०.७२ भारू थियो। भारू र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारू अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको हो।

पेट्रोलियम पद्धार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरीरहेको वैदेशीक लगानीको कारण भारु कमजोर भइरहेको हो।

डलरको ग्राफ उकालो लाग्दै गर्दा हरेक दिन नेपाली रूपैयाँ कमजोर हुँदै गएको छ। नेपालमा मात्र हैन विश्व बजारमा डलर बलियो हुँदै गएको छ।

डलर बलियो हुँदा दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भइरहेको छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीतिको ग्राफ पनि ८.२६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।

रूस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्वबजारमा डलर महँगो बन्दै गएको हो। डलर मजबुत भएपछि भारु कमजोर हुँदै गएको छ। डलर महंगो बने पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ओरालो लागेको छ। कच्चा तेलको मूल्य ब्यारेलको ८० डलर नजिक आएको छ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation