
बुटबल । भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधवार निधन भएको छ । गत अगस्ट १० मा जिममा कसरत गर्ने क्रममा राजुलाई हृदयाघात भएको थियो । त्यसपछि उनलाई ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स’ (एम्समा) भर्ना गरिएको थियो ।
विगत ४१ दिनदेखि भेन्टिलेटरमा मृत्युसँग लडिरहेका राजु श्री वास्तवले आज जीवन त्याग गरेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । राजु श्रीवास्तवको निधनको खबर सार्वजनिक भएदेखि नै देशभर शोकको लहर छाएको छ ।
स्ट्यान्ड अप कमेडियन श्री वास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए । सन् २००५ को कमेडी सो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’को पहिलो सिजनबाटै उनले ख्याति कमाए । त्यस्तै उनी ‘बिग बोस’को तेस्रो संस्करणमा समेत सहभागी भएका थिए ।