
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न अवसरमा पाएका १२ सय बढी उपहार लिलामीमा राखिएको छ।
यस वर्ष लगभग १२०० स्मृति चिन्ह र उपहारहरू ई-लिलामीमा राखिएको छ। नयाँ दिल्लीस्थित नेशनल ग्यालरी अफ मोडर्न आर्टमा स्मृति चिन्हको प्रदर्शन गरिएको छ। यी वस्तुहरू वेबसाइटमा पनि हेर्न सकिने केन्द्रीय मन्त्री किशन रेड्डीले जानकारी दिए।
स्वदेश तथा विदेश भ्रमणका क्रममा मोदीलाई आयोजकले ती उपहार दिएका थिए। लिलामीबाट आएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेछ। लिलामी मार्फत उठाइएको रकमले गंगाको संरक्षण र पुनरूत्थान गर्न खोज्ने प्रमुख परियोजना ‘नमामी गंगे’ कार्यक्रममा योगदान गर्नेछ।
लिलामीमा राखिएका सबै वस्तु सर्वसाधारणले पनि अवलोकन गरुन भन्ने उद्देश्यले दिल्लीको इन्डिया गेट स्थित राष्ट्रिय आधुनिक कला संग्रहालयमा प्रदर्शनीमा राखिएका छन्।
मोदिले आफूले पाएका उपहारको लिलामी गराउने प्रचलन आफू गुजरात राज्यको मुख्यमन्त्री हुँदा नै चलाएका हुन्। मुख्यमन्त्री हुँदा उनले लिलामीबाट उठेको रकम राज्यको बालिका शिक्षा अभियानका लागि प्रदान गर्थे। लिलामी प्रक्रिया अनलाइन मार्फ़त हुन गइरहेको छ।
संस्कृति मन्त्रालयले प्रधानमन्त्रीका उपहार सामग्री अनलाइन र संग्रहालयमै गएर किन्न पाउने व्यवस्था मिलाएको छ। तर, यो भारतीय जनताले मात्र किन्न पाउने संस्कृति मन्त्रालयले जनाएको छ। यसमा विदेशी नागरिकले लिलामीमा उपहारका सामग्री किन्न पाउनेछैनन्। एजेन्सीको सहयोगमा