अन्धकार घर (कबिता)

उसको आगनमा घाम आउदैन
पुर्णिमा मा जुन लाउदैन
मेला पर्वहरुमा खुसि छाउदैन
किनकि उ गरिब छ र घर अन्धकार छ ।

उसको नाममा आउने बजेट चोरेर
नेताहरु सम्पन्न भइसके
सहरमा महल र पजेरो जोडिसके
श्रीमतिलाइ गहनाले छोपिसके
उ अझै मजदुरिको भरमा बाचेको छ
मनभरि अलिना सपनाहरु साँचेको छ ।

महलहरुको बिचमा उसको घर
खोचमा अड्किएको ढुङ्गा जस्तै
जेनतेन अडिएको छ ।
गाडिहरुको थर्राहटले चर्किएको छ
साहुहरुको हुंकारले भित्ताहरु कड्किएको छ ।

गरिबि निवारणको भाषणले
उसका कानहरु बहिरा भइसकेका छन ।
कहिलेकाहि आउने राहतको फोटोहरुले
सामाजिक सन्जाल रगींएको छ ।
सायद राहात बाड्नेहरु पनि सम्पन्न भइसके
उ उस्तै अन्धकारमा रुमल्लिरहेको छ ।

छानोमा खिया लागेका टिनका पाताहरु
हावाको झोक्काले घरि यता घरि उता पारिरहदा
गलेको लुगा फाटे झै च्यातिरहन्छन ।
बर्षामा घरभित्रै भाडाहरु थापेर
उ जेनतेन झरि बाट बाँचिरहन्छ ।

क्यान्सरको भयावह वाट
जवानिमै श्रीमति गुमाएको उसले
भोक, प्यास र निद्रा बिर्षिसकेको छ ।
हाँसो खुसि र रहरहरुको पनि
घाटमा संगै दाहासंस्कार गरेर फर्किएको छ ।

अभाव र पिडाहरु, दुख र घाउहरु,
नियमित कर्म जस्तै भएर बानि परेका छन ।
छोराछोरिका सपनाहरु
झुत्रे सुकुल र बिछ्याउनामा
ब्युझिन नपाउदै सकिएका छन ।

मृत्यु र जिवनको दोसाधमा उभिएकि आमा
मक्किएको फोक्सोलाइ स्वास पुर्याउन
धोति र मजेत्रो बेरेर आगनमा खोकिरहन्छिन ।
केटाकेटिहरु धुलो र हिलोमा लरबरिदै
कर्सो र दलानमा उफ्रिरहन्छन ।

केवल ऊ संग काम छ र फेरि पनि काम छ
धुलोमैलो र झुत्रेझाम्टे भएर
मलिन अनुहारका ओठहरुबाट
मन्द मुस्कानको जिउहजुर संगै
धनिहरुको विचमा उ निकै बदनाम छ ।

बर्षौ देखि हजार आँधिहुरि खपेर
मुटुमा अनेकन छुराहरु रोपेर
खुकुरिको धारमा दौडिरहँदा
असिना र चट्याङ्गका मेघहरु संगै
बिरक्त मुद्रामा आकासको एउटा तारा भएर
जुनकिरिको धिप धिपी भइ बाँचिरहेछ
उसको अन्धकार घर।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation