भूमिकास्थानलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

अर्घाखाँची ।   अर्घाखाँचीको भूमिकास्थान नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। नगरपालिकाका दस वटै वडामा रहेका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमअनुसार खोप दिएसँगै नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा निर्देशिका बमोजिम आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिएको छ। नगरपालिकाका १० वटै वडामा घरदैलो सर्वेक्षणमार्फत १५ देखि ५९ महिनाका ३७२ जना बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न भएसँगै पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। 

राष्ट्रिय खोप कार्यक्रमअनुसार १५ महिनाभित्र पूरा गर्नुपर्ने सबै खोप पूरा गरेसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख सुरेशप्रसाद गैरेले जानकारी दिनुभयो।

जिल्ला खोप समन्वय समितिका प्रमुख एवम् जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला र जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव कृष्णप्रसाद पोख्रेलले भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, उपप्रमुख बालाकृष्ण बन्जाडे तथा स्वास्थ्य शाखा प्रमुख सुरेशप्रसाद गैरेलाई पूर्णखोप प्रमाणीकरण पत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले स्वस्थ, समृद्ध र सशक्त राष्ट्र निर्माणका लागि खोपको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले बालबालिकालाई समयमै खोप लगाउने कार्यमा अभिभावक, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।

नगरप्रमुख झविलाल थापाले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल हुनु समग्र नगरवासीको साझा उपलब्धि भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै स्वास्थ्य सेवा सुधार र नागरिकको स्वास्थ्य सुरक्षालाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो।

कार्यक्रममा नगर उपप्रमुख बालाकृष्ण बन्जाडे, जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोख्रेल, भूमिकास्थान–१० का वडाध्यक्ष खगेश्वर पन्थी, पत्रकार गोपालप्रसाद भट्टराई तथा धनचौर स्वास्थ्य चौकी प्रमुख शिवप्रकाश जिसीले मन्तव्य राख्दै पूर्णखोप अभियान बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि महत्वपूर्ण रहेको बताउनुभयो। उहाँहरूले खोप कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा दस वटै वडाका वडाध्यक्ष तथा स्वास्थ्य संस्था प्रमुखहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। साथै पूर्णखोप अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने १० जना खोप कार्यकर्तालाई सम्मान गरिएको थियो।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation