३ भारतीय खेलाडीसहित खिल्जी युवा क्लब १०औं NVA प्रधानमन्त्री कपमा सहभागी

अर्घाखाँची ।  भूमिकास्थान नगरपालिका–६, खिल्जीस्थित खिल्जी युवा क्लबले ३ जना भारतीय खेलाडीसहित १०औं संस्करणको NVA प्रधानमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ।

नेपाल भलिबल संघद्वारा आगामी वैशाख १० गतेदेखि आयोजना हुन लागेको उक्त प्रतियोगितामा क्लबले आफ्नो पुरुष टोली सहभागी गराउने औपचारिक जानकारी दिएको हो। टोलीमा अनुभवी तथा प्रतिभाशाली खेलाडीहरूको समावेश गरिएको क्लबले जनाएको छ।

क्लबका अनुसार टोलीमा ३ जना भारतीय खेलाडीसमेत समावेश गरिएको छ, जसले टोलीको प्रदर्शन अझ मजबुत हुने विश्वास लिइएको छ। टोलीको कप्तानी अमित गाहाले गर्नेछन् भने अन्य खेलाडीहरूमा संगम घर्ती, विकास गिरी, दीपेश कुँवर, शिरिष फुन्जाली, उम बहादुर थापा क्षेत्री, शेर बहादुर भलामी, सरोज बेल्बासे, तुसार खत्री, सुरज चौधरी, रजत चौधरी, शुभम चौधरी रहेका छन्।

त्यसैगरी, टोलीका प्रशिक्षकको जिम्मेवारी रवि बोहोराले सम्हाल्नेछन् भने सह–प्रशिक्षकका रूपमा नारायण थापा रहेका छन्। व्यवस्थापकको भूमिकामा दुर्गा खत्री रहनेछन्।

क्लबका अध्यक्ष विष्णु बेल्बासेका अनुसार टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ। “यसपटक हामीले बलियो टोली निर्माण गरेका छौं, राम्रो नतिजा ल्याउने अपेक्षा छ,” उनले भने ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation