विश्व मावि ढाकावाङ्गलाई १२थान कम्प्युटर सहयोग, ग्रामीण शिक्षामा प्रविधिको ठूलो टेवा

अर्घाखाँची। जिल्लाको भूमिकास्थान नगरपालिका-१ ढाकावाङ्गस्थित विश्व माध्यमिक विद्यालयलाई नेपाल टेलिकमले १२ थान कम्प्युटर हस्तान्तरण गरेको छ।

बिहीबार आयोजित एक कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका प्रशासनिक अधिकृत निराजन पण्डित तथा बरिष्ठ सहायक राम बन्जाडेले संयुक्त रूपमा कम्प्युटर हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा बोल्दै प्रशासनिक अधिकृत निराजन पण्डितले सूचना प्रविधिको विकाससँगै शिक्षालाई डिजिटल माध्यमसँग जोड्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता सामग्रीले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई प्रविधिसँग नजिक ल्याउने र भविष्यमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, उपलब्ध गराइएका कम्प्युटरहरूको सदुपयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय प्रशासनलाई आग्रह गर्नुभयो।

हस्तान्तरण कार्यक्रममा विद्यालयका सहायक प्राचार्य शान्त बहादुर केसीले नेपाल टेलिकमप्रति आभार व्यक्त गर्दै यस सहयोगले विद्यालयको सूचना प्रविधि शिक्षामा ठूलो टेवा पुग्ने बताउनुभयो। उहाँले अब विद्यार्थीहरूले व्यवहारिक रूपमा कम्प्युटर शिक्षा लिन पाउने र सिकाइ प्रक्रिया अझ प्रभावकारी बन्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा शिक्षकहरू खुमबहादुर बस्नेत, रमेश चौधरी तथा भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसाल सहित विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

यस सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुका साथै डिजिटल शिक्षाको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation