अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ अर्घाखाँचीको आठौँ जिल्ला सम्मेलनले रेसम वि.क.लाई अध्यक्षमा निर्वाचित गर्दै २७ सदस्यीय जिल्ला समिति गठन गरेको छ। सम्मेलनले देश, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि सचेत युवाहरूलाई संगठित गर्दै संघर्षको मोर्चामा अघि बढ्ने संकल्प व्यक्त गरेको छ।
नवगठित जिल्ला समितिको उपाध्यक्षमा शुरेस आचार्य, सचिवमा झविन्द्र चुँदाली, सह–सचिवमा रिता बन्जाडे पुन र कोषाध्यक्षमा भुपाल वि.सी. निर्वाचित हुनुभएको छ। साथै माधव बन्जाडे र महेश बुढामगर सचिवालय सदस्यमा चयन हुनुभएको छ।
सम्मेलनको उद्घाटन गर्दै अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष गणेश अधिकारीले राज्य सञ्चालनको वर्तमान अभ्यासले युवाशक्तिलाई सस्तो श्रममा सीमित गरिरहेको टिप्पणी गर्नुभयो। उहाँले व्यवहारिक सीप र रोजगारीसँग नजोडिएको शिक्षा, अवसरको अभाव र योजनाबद्ध विदेश पलायनले देशलाई युवाविहीन बनाइरहेको बताउनुभयो।
बाह्य शक्तिका स्वार्थ समूहहरूले युवालाई प्रयोग गरेर देशको भविष्य कमजोर बनाउने प्रयास भइरहेको उहाँको भनाइ थियो। नयाँ राजनीतिको नारा बोकेर देखापरेका केही शक्तिहरूले राष्ट्रिय हितभन्दा बाहिरी एजेन्डालाई प्राथमिकता दिँदै देशलाई गलत दिशामा धकेलिरहेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले राष्ट्रप्रेमी, परिवर्तनकामी र सचेत युवाहरूबीच एकता आजको आवश्यकता भएकोमा जोड दिनुभयो।
सम्मेलनमा राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी., सागर के.सी., जिल्ला अध्यक्ष थम्मन के.सी., राजमो अर्घाखाँचीको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्धार पशुपति ढकालले बाेल्दै राजनीतिलाई सेवाभन्दा पनि व्यापार बनाउने प्रवृत्तिले राज्य व्यवस्थामाथि जनविश्वास खस्किएको धारणा राख्नुभयो। सत्ताका लागि सिद्धान्त र राष्ट्रियता साट्ने प्रवृत्तिका कारण देश संकटमा परेको उल्लेख गर्दै यस्तो प्रवृत्तिको खुलेर विरोध गर्न युवाहरू अग्रपंक्तिमा उभिनुपर्नेमा उहाँहरूको जोड थियो।
वक्ताहरूले मुलुकको राष्ट्रियता, स्वतन्त्रता, स्वाधीनता र गणतन्त्र सुरक्षित राख्न राजनीतिक चेतना अपरिहार्य रहेको बताउँदै सही विचार, इमानदार नेतृत्व र संगठित संघर्षमार्फत मात्र देशको रक्षा सम्भव हुने निष्कर्ष निकाल्नुभयो। यसका लागि आगामी दिनमा हुने राजनीतिक प्रतिस्पर्धामा राष्ट्रवादी र परिवर्तनकामी शक्तिलाई मजबुत बनाउनुको विकल्प नरहेको धारणा थियो।
जिल्लाका छवटै पालिकाबाट प्रतिनिधिहरूको सक्रिय सहभागितामा सम्पन्न सम्मेलनमा राष्ट्रिय जनमोर्चाका विभिन्न तहका नेताहरू, भातृ संगठनका प्रतिनिधि तथा युवा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।











