आशाका किरणको न्यानोमाया, ६० विद्यार्थीलाई स्विटर, टोपी वितरण

पुस २३,  देउखुरी । आशाका किरण संस्थाको आयोजना तथा विभिन्न सहयोगदाताहरूको आर्थिक सहयोगमा दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं. १, उपल्लो भालुवाङस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत शिशुदेखि कक्षा ५ सम्मका ६० जना विद्यार्थीलाई ‘न्यानोमाया कार्यक्रम’ अन्तर्गत स्विटर र टोपी वितरण गरिएको छ ।

जाडो मौसममा विद्यालयमा अध्ययनरत स-साना बालबालिकाको नियमित शैक्षिक गतिविधिमा सहजता ल्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले शिक्षा क्षेत्रमा सामाजिक संघ–संस्थाको भूमिकालाई थप प्रभावकारी बनाएको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर मरासिनीको अध्यक्षतामा सम्पन्न भएको थियो । सभाध्यक्ष मरासिनीले बालबालिकाको शैक्षिक विकासमा सहयोग पुग्ने यस्ता सामाजिक पहलहरू अत्यन्त सराहनीय रहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षा क्षेत्रमा राज्यसँगै सामाजिक संस्थाहरूको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै आशाका किरण संस्थाका अध्यक्ष दिवस आचार्यले मन्तव्य राख्दै संस्थाले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जानकारी दिनुभयो । उहाँले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षा र न्यानोपनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ‘न्यानोमाया कार्यक्रम’ सञ्चालन गरिएको स्पष्ट पार्दै आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा समाजोपयोगी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक देउकुमार वलिले मन्तव्य दिँदै चिसो मौसममा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिनु अत्यन्त उपयोगी र समयसापेक्ष रहेको बताउनुभयो । उहाँले यस कार्यक्रमले विद्यार्थीहरूको विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै आशाका किरण संस्था तथा सहयोगदाताहरूप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा आशाका किरण संस्थाका अध्यक्ष दिवस आचार्य, संस्थापक अध्यक्ष सूर्य किरण केसी, महासचिव लोकमणी भुसाल, आमन्त्रित सदस्यहरू बन्दना पुन र दिलमाया घर्ती मगर, विद्यालयका शिक्षक–शिक्षिकाहरू, अभिभावकहरू तथा पत्रकार भिषुन शाहिको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक धुव्र मल्लले गर्नुभएको थियो । अन्त्यमा विद्यालय परिवारका तर्फबाट कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै आशाका किरण संस्थालाइ प्रशंसा पत्र प्रदान गरिएको थियो ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation