अर्घाखाँची । भूमिकास्थान नगरपालिका १० मा अवस्थित सत्यदेवी आधारभूत विद्यालयले आफ्नो स्थापनाको ५० औँ वर्षगाँठको अवसरमा स्वर्ण महोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमकाे भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको थियोे ।
उद्घाटन गर्दै नगरप्रमुख थापाले सामुदायिक विद्यालयहरू स्थानीय शिक्षाको आधारस्तम्भ भएको उल्लेख गर्दै सत्यदेवी आधारभूत विद्यालयले पाँच दशक लामो यात्रामा शैक्षिक, सामाजिक तथा नैतिक मूल्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा शैक्षिक वातावरण सुदृढीकरणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमनाथ खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद बेलबासे, भूमिकास्थान नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तुबलाल सापकोटा, भूमिकास्थान नगरपालिका वडा नं. १० का वडाध्यक्ष खगेश्वर पन्थी लगायतले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा विद्यालयकअ पूर्व प्रधानाध्यापक, शिक्षक तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, भगवती माध्यमिक विद्यालय डेभाका प्रधानाध्यापक कृष्ण खनाल, श्री जनसेवा आधारभूत विद्यालय टोड्केका प्रधानाध्यापक हिमबहादुर घर्ती, धनचौर स्वास्थ्य चौकीका अहेब तामाकला गैरे, विद्यालयका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद जोशी लगायतकाे उपस्थिति रहेको थियो।
कार्यक्रममा धनचौरभित्रका सम्पूर्ण विद्यालयहरूको सहभागिता रहेको थियो। साथै विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै सम्राट खनाल स्मृति अक्षय कोष तथा हिमलाल टमकला स्मृति अक्षय कोषबाट छात्रवृत्ति प्रदान गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक श्री विष्णुप्रसाद बन्जाडेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालयको वार्षिक तथा प्रगति प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो।











