
असार–३०,अर्घाखाँची। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा
अर्घाखाँचीमा एकजना संस्कृति संरक्षणकर्मिलाई सम्मान गरिएको छ ।
लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीले आइतबार सन्धिखर्कमा आयोजना गरेको परिसंवाद कार्यक्रमको अवसरमा मालारानी–३ का जनार्दन खनाललाई प्रतिष्ठान
केन्द्रिय समितिले नेपाली संस्कृति संरक्षण र विकासमा कलम चलाएबापत अभिनन्दन र सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका अध्यक्ष रिषि आजादले संस्कृति संरक्षण मन्च अर्घाखाँचीका अध्यक्ष समेत रहनुभएका संरक्षणकर्मि जनार्दन खनाल र उहाँको कृति अर्घाखाँचीका फागुगित संग्रहलाई सम्मानपत्रले अभिनन्दन गर्नुभएको प्रतिष्ठान अर्घाखाँचीले जनाएको छ । यसैविच भानुजयन्तीको अवसरमा सन्धिखर्कमा परिसंवाद कार्यक्रम समेत गरिएको छ ।
लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीले नेपाली संस्कृतिको
निर्माणमा भानुभक्तिय रामायणले पारेको प्रभावका बारेमा परिसंवाद गरेको हो।
लुम्बिनी वाङ्गमय प्रतिष्ठानका केन्द्रिय सदस्य राजकुमारी कुंवरले संचालन गर्नुभएको परिसंवाद कार्यक्रममा पूर्वप्रध्यापक हुमकान्त पाण्डे, संस्कृतिविद् उत्तर कुमार पराजुली, पाणीनी बहुमुखी क्याम्सका प्रध्यापक माधवराज चुँदाली, साहित्यकार लक्ष्मी कोकिला पोख्रेल र प्रध्यापक बिमला खनालले बहस गर्नुभएको थियो ।
परिसंवादमा बोल्ने वक्ताहरुले नेपाली साहित्य र संस्कृति संरक्षणमा भानुभक्त आचार्यको योगदानको चर्चा गर्नुभएको छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर
भानुभक्तले नेपाली भाषा र संस्कृतिको क्षेत्रमा ठूलो गुन लगाउनुभएको उहाँहरुको भनाई थियो ।
लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष बिष्णु प्रसाद बस्यालको अध्यक्षता, उपाध्यक्ष कमल पोख्रेलको स्वागत मन्तव्य र सचिव तिर्थराज अचार्यको संचालनमा सम्पन्न कार्यक्रममा सहभागी साहित्यिक श्रष्ठाहरुले भानुभक्तको फोटोमा माल्यार्पण गरेर अभिनन्दन समेत गर्नुभएको थियो ।
अर्घाखाँचीका साहित्यकार, श्रष्ठा र लेखकको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा स्थानिय श्रष्ठाका रचना समेत वाचन गरिएको थियो ।