
दाङ, देउखुरी (लालमटिया)— आशाका किरण संस्थाको आयोजनामा राप्ती गाउँपालिका–२ लालमटियामा निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा नं. २ को सहयोग तथा श्रृजना फार्मेसीको प्राविधिक सहकार्यमा सम्पन्न गरिएको हो। कार्यक्रममा आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्बासेको अध्यक्षता रहेको थियो भने संस्थापक अध्यक्ष सुर्य किरण के.सी. विशेष अतिथिका रूपमा उपस्थित थिए।
स्वास्थ्य परीक्षण कार्यक्रममा १०९ जना भन्दा बढी स्थानीय नागरिकले सहभागिता जनाएका थिए। प्राविधिक पक्षमा लालमटिया आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अ.हे.व. लक्ष्मी श्रेष्ठ, ल्याब असिस्टेन्ट कमल बुढा र सुर्यकिरण के.सी. सहितको टोलीले मधुमेह तथा रक्तचाप चेकजाँच गरी सहभागीहरूलाई सम्बन्धित रोगबारे जानकारी, प्रारम्भिक स्वास्थ्य परामर्श तथा आवश्यकताअनुसार उपचार सिफारिस समेत प्रदान गरिएको थियो।
कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यहरूमा दिवस आचार्य, श्रीधरी जि.सी., लोकमणी भुसाल, स्वस्तिका खनाल, कमल आचार्य, गीता खनाल, ममता गिरी र सृजना खड्का लगायतको उपस्थिति रहेको थियो।
त्यस्तै, वडा नं. २ का वडा सदस्य टेक बहादुर रावत तथा राम जहदी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष डिल्लीराज सुवेदीले पनि कार्यक्रमको सफलतामा साथ दिएका थिए।
कार्यक्रमले जनस्वास्थ्यप्रति समुदायको चासो बढाएको र भविष्यमा यस्ता सामाजिक सेवामूलक गतिविधिहरू निरन्तर गरिने आयोजक संस्थाले जनाएको छ।