
काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादी आन्दोलनमाथि प्रतिबन्ध लगाउने अधिकार सरकारसँग रहेको स्पष्ट पारेका छन्।
बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले राजतन्त्र पुनर्स्थापनाको माग संविधानविरोधी कार्य भएको बताउँदै यस्तो गतिविधिमा सधैं सहनशील नहुने चेतावनी दिए।
“संविधान र स्थापित लोकतन्त्रको मूल्य–मान्यताको विरोध गरिरहेकालाई हामीले अहिलेसम्म पनि सभा, संगठन र अभिव्यक्ति दिने स्वतन्त्रता दिएका छौं। तर त्यो हाम्रो कमजोरी होइन, हाम्रो उदारता हो,” उनले भने।
उनले चेतावनी दिँदै थपे, “सरकार सधैं टुलुटुलु हेरेर बस्दैन। आन्दोलनका गतिविधिले जुन रूप लिन्छ, त्यसको आधारमा सरकारले यथोचित प्रतिक्रिया जनाउनेछ।”
मन्त्री गुरुङका अनुसार संविधान र जनताविरोधी गतिविधि लामो समयसम्म सह्य नहुनेछ, र सरकारले आवश्यक परे प्रतिबन्ध लगाउने कदम चाल्न सक्छ।