आशाका किरण संस्थाद्वारा देउसी भैलोबाट उठेको रकमबाट निलसागर र दृिष्टीबिन छात्रावासलाई खाद्यान्न सहयोग

भालुवाङ २४ कार्तिक । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले सञ्चालन गरेको देउसीभैलोको रकम सामाजिक कार्यमा खर्च गरेको छ ।संस्थाका अध्यक्ष अशोक बेल्वासेको नेतृत्वको टोलीले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रम र वडा नम्बर २ लालमटिया स्थित आदर्श नमुना माध्यमिक विद्यालयमा रहेको दृष्टिविहिन छात्राबासमा खाद्यन्न सहयोग गरेको छ । भैलोबाट संकलित कुल रकमबाट खर्च कटाएर बचेको रकम मध्ये सामाजिक क्षेत्रमा ५० प्रतिशत रकम खर्च गर्ने निर्णय भए बमोजिम हालका लागि १० हजार रुपैयाँबाट आश्रम र छात्राबासमा चामल, दाल, नुन, तेल, फलफूल, भुजा, बिस्कुट लगायतका खाद्य सामाग्री सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष अशोक बेल्वासेले निलसागर सेवा आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरी र दृष्टिविहिन छात्राबासमा विद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर क्षेत्रीलाई सो खाद्य सामाग्री हस्तान्तरण गरेका छन् । भैलोबाट संकलित रकमले पिकनिक खाने, भ्रमण जाने वा फजुल खर्च गर्नु भन्दा सडक आश्रित मानव तथा असाय, बेसाहाराहरुलाई सहयोग गर्नु पवित्र कार्य हुने भन्दै संस्थाले ५० प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने निर्णय बमोजिम आश्रम र छात्राबासमा सहयोग गरेको संस्थाका अध्यक्ष अशोक बेल्वासेले बताएका छन् ।

यस्तै संस्थाले गरेको सहयोग प्रति आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरी र विद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर क्षेत्रीले खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए ।संस्थाले गत कार्तिक १५ गते देखि २० गते सम्म ६ दिन सम्म सञ्चालन गरेको देउसीभैलोमा १ लाख २७ हजार ७ सय ४५ रुपैयाँ संकलन गरेकोमा ३१ हजार ४ सय ८५ रुपैयाँ खर्च कटाएर ९६ हजार २ सय ६० रुपैयाँ बचत गर्न सफल भएको छ । बचत भएको रकम मध्ये संस्थाले ५० प्रतिशत सामाजिक क्षेत्रमा, ३० प्रतिशत संस्थाको कोषमा र २० प्रतिशत मनोरञ्जनका लागि खर्च गर्ने निर्णय गरेको संस्थाका महासचिव लोकमणी भुसालले जानकारी दिएका छन् ।

यसै बीच संस्थाले सामाजिक कार्य अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक स्थित रामजहदी सामुदायिक वनको हरितपार्कमा झुला निमार्ण गर्ने निर्णय समेत गरेको छ । पर्यटकहरुलाई थप आकर्षित गर्न संस्थाले झुला बनाउने निर्णय गरेको महासचिव भुसालले बताए । यस्तै संस्थाले कार्तिक २७ गते हरिबोधनी एकादशीका दिन पनि राप्ती गाउँपालिकाका विभिन्न क्षेत्रमा देउसीभैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको महासचिव भुसालले बताएका छन् । खाद्यन्न सहयोग कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सुर्यकिरण केसी, अध्यक्ष अशोक बेल्वासे, वरिष्ठ उपाध्यक्ष दिवस आचार्य, उपाध्यक्ष श्रीधर जिसी, महासचिव लोकमणी भुसाल, सदस्यहरु दिपेश आचार्य, सिर्जना थापा, ममता गिरी, स्वस्तिका खनाल, सिर्जना खड्का, निशा चौधरी, लक्ष्मी पोख्रेल, सल्लाहकार माधव खनाल, प्रेस संयोजक ओमप्रकाश गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation