दाङमा बस दुर्घटना– २ जनाको मृत्यु, २ जना घाइते

लमही– दाङको देउखुरीमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अन्य २ जना घाइते भएका छन्।

बर्दियादेखि काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको बस आइतबार राति करिब ११ बजेदेखि दाङको लमही नगरपालिका–९ रिहार नजिकै दुर्घटना भएको थियो।

दुर्घटनामा ज्यान गुमाउनेमा बर्दियाको गेरुवा गाउँपालिका–१ घर भएका ३६ वर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरी छन्। मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ।

बसमा ४७ जना यात्रुहरु सवार रहेकामा अन्य यात्रुहरु भने सकुशल रहेका छन्। बस चालक सामान्य घाइते भएका र उनको कोहलपुरमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रारम्भिक अनुमान छ। पट्टा भाँच्चिएपछि बसको अगाडि बसेका २ जना हुत्तिएर च्यापिन पुगेकाले उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

केही दिन अगाडि मात्रै दाङकै भालुवाङमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । बाँकेको कोहलपुरबाट काठमाडौं जाँदै गरेको बस दाङको भालुवाङस्थित पुलबाट राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation