पुस २६ देखि छैटौँ राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८० सञ्चालन हुने

देउखुरी । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले महोत्सव लगाउने भएको छ । राप्ती उद्योग वाणिज्य संघले शनिवार भालुवाङमा पत्रकार सम्मेलन गरेर राप्ती – २, लालमटियाको टुँडिखेलमा ‘छैटौँ राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८०’ सञ्चालन हुने जानकारी गराएको छ ।

‘कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान’ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् । संयोजक खड्काले भने ‘राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा यही पुस २६ गतेदेखि माघ ८ गतेसम्म लालमटियामा महोत्सव सञ्चालन हुने छ ।’

महोत्सवमा विभिन्न १ सय ५० बढी स्टलहरू राखिने छ भने करिब चार लाख दर्शकले महोत्सवको अवलोकन सहित ७ करोड बराबरको कारोबार हुने अनुमान रहेको संयोजक खड्काले जानकारी दिए । स्थानीय उत्पादित वस्तुहरूको बजारीकरण गर्नुको साथै उत्पादनमा वृद्धि गरी आर्थिक पक्ष सबल गराउने महोत्सवको उद्देश्य रहेको छ ।

महोत्सवबाट आम्दानी भएको रकमबाट उद्योग वाणिज्य संघको भवन निर्माण तथा विपत् व्यवस्थापनमा खर्च गरिने संयोजक खड्काले बताए ।

महोत्सव अवधिभर प्रवेश शुल्क प्रति व्यक्ति ९० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र ज्येष्ठ नागरिक तथा अपाङ्गतालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएका छन् । महोत्सवको उद्घाटनका दिन निकालिने सांस्कृतिक झाँकीमा प्रथम, द्धितिय र तृतीय हुने झाँकीहरूलाई क्रमशः १० हजार, ७ हजार र ५ पुरस्कार प्रदान गरिनुको साथै झाँकीमा सहभागी सबै समूहलाई सान्त्वना स्वरूप ३–३ हजार नगद प्रदान गरिने छ ।

महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रदर्शनी, विभिन्न जातजातिको झाँकी प्रदर्शन रहने छ । महोत्सवमा पर्यटन तथा कृषिका लागि २० वटा स्टल निःशुल्क रूपमा छुट्टाइएको छ । महोत्सव अवधिभर चर्के पिङ, बाल उद्यान, लगायतका मनोरञ्जन रहनेछन् । विभिन्न खालका प्रतियोगिताहरूको प्रतिस्पर्धा समेत गराइने छ संघले जनाएको छ ।

महोत्सव अवधिभर न्यु डान्स क्रेशनको साथै ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको प्रस्तुति रहनुको साथै महोत्सव अवधिभर खुल्ला नृत्य प्रतियोगिता देउखुरी आइडल समेत हुने छ । देउखुरी आइडलमा प्रथम हुनेलाई नगद २० हजार, दोस्रो हुनेलाई नगद १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था समेत गरिएको संयोजक खड्काले जानकारी दिए ।

 

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation