
काठमाडौं महानगरले टुकुचा खोला छोपेर बनाइएका भवन भत्काइरहेका बेला उच्च अदालत पाटनले भने ती भवनहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । महानगरले टुकुचा खोज्नेक्रममा जयनेपाल हलको आँगन खोतल्दा टुकुचा भेटिएको थियो ।
आइतबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
उच्च अदालतले अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई यही असोज ५ गतेका लागि बोलाएको छ । प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापालगायतले शुक्रबार रिट दायर गरेका थिए।